डडेल्धुरामा जिप दुर्घटना: ४ जनाको मृत्यु, ४ जना घाइते

khabarday.com

धनगढी ।
डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ चौडमा बिहीबार बिहान भएको जिप दुर्घटनामा चार जनाले ज्यान गुमाएका छन् भने चार जना घाइते भएका छन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार उग्रतारा यातायातको से १ ज ७३८ नम्बरको जिप ठाडा बजारबाट डडेल्धुरा सदरमुकामतर्फ आउँदै गर्दा करिब पाँच सय मिटर तल खस्दा दुर्घटना भएको हो। दुर्घटना आज बिहान करिब सवा नौ बजे भएको अनुमान गरिएको छ।

दुर्घटनामा परेर १८ वर्षीय सुरेश साउद, २३ वर्षीय सुरेश पार्की, ४० वर्षीया तारा अवस्थी र ७२ वर्षीया कलावती साउद को घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। मृतकहरूको शव परीक्षणका लागि डडेल्धुरा अस्पताल लगिएको छ।

त्यसैगरी, दुर्घटनामा १८ वर्षीया सुशिला विक, ४ वर्षीया प्रतिका पार्की, ४८ वर्षीय चन्द्रबहादुर साउद र जिप चालक ३५ वर्षीय रामबहादुर साउद घाइते भएका छन्। घाइतेमध्ये सुशिला विक र चालक रामबहादुरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल पुर्‍याइएको छ।

प्रहरीका अनुसार दुर्घटनाको कारण भने प्रष्ट हुन बाँकी छ। घटनास्थलमा थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया